देउखुरी (दाङ), १५ चैत ः लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन् । चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गर्नुभएको थियो ।
उहाँहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गर्नुभएको छ । दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी खेती परीक्षणको लागि गरौँ कस्तो हुन्छ भनी खेती गरेको पङ्गेनीले बताउनुभयो । पहिलो प्रयास सफल भएकोमा उहाँ धेरै खुसी हुनुहुन्छ । ‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उहाँहरुले सयपत्रीको याम सकिएपछि स्ट्रबेरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताउनुभयो ।
पहिलो वर्ष खेती गरेका छौँ, इजिप्टबाट बिरुवा ल्याएर रोपेकका हाँै राम्रो आम्दानी भयो । दुई वटा विदेशी जातका आठ हजार बिरुवा रहेको उहाँले बताउनुभयो । एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उहाँले बताउनुभयो । उत्पादन रु पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको छ । एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उहाँले बताउनुभयो । यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ । स्थानीयवासीलाई फममा आएर स्ट्रबेरीमा फोटो भिडियो बनाउने सुबिधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबेरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताउनुभयो ।
मङ्सिरमा बिरुवा रोपेको ४० दिनदेखि फल्न सुरु ग¥यो । अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिनुभयो । रु पाँच लाख आम्दानी भइसकेको छ । लमही, तुलसीपुरमा पाँच किलो दैनिक ग्रहाकले नियमित लैजाने गरेको उहाँले बताउनुभयो । घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ । दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ । ग्राहक फममै आउने र आउन नसकेकाको लागि डेलिभरी गरिदिने गरेको उहाँले बताउनुभयो । मङ्सिरमा रोपेको बिरुवाले वैशाखसम्म फल दिने आसा गरेको उहाँले सुनाउनुभयो । दाङको हावा पानीमा राम्रो उत्पादन हुने रहेछ । अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने उहाँको अनुभव छ ।